बहानाबाजी नगरी सेवा प्रभाव गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई काममा कुनै बहानाबाजी नगरी नतिजामुखी भएर काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई प्रधानमन्त्री कार्कीले प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभएको हो ।

राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवाहरूमा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई-गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो।

सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न उहाँले निर्देश गर्नुभयो ।

जेन-जी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्