कानुनी बाधाका कारण धुर्मुस–सुन्तली फाउन्डेसनलाई भुक्तानी दिन नसकेको भरतपुर महानगरको स्पष्टीकरण



चितवन,मंसिर ६ । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण थालेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी अड्चन परेको महानगरले स्पष्ट पारेको छ। सङ्घीय सरकारले १५ करोड रुपैयाँ विनियोजन गरे पनि कानुनी प्रक्रिया नपुग्दा रकम भुक्तानी गर्न नसकिएको महानगरले बताएको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार संघीय सरकारले ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकमा बजेट पठाए पनि उक्त रकम सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न मिल्ने व्यवस्था भएकाले समस्या सिर्जना भएको हो।

पौडेलका अनुसार दोस्रो समस्या फाउन्डेसन भ्याटमा दर्ता नभएको हो। “सार्वजनिक खरिद ऐन अनुसार भुक्तानी गर्दा भ्याट बुझाउनुपर्ने हुन्छ, तर फाउन्डेसन भ्याट दर्ता गैह्रकानुनी भएकाले भुक्तानी पेचिलो बनेको हो,” पौडेलले स्पष्ट पारे।

यसअघि निर्माण लागतका क्रममा महानगरले आफ्नै स्रोतबाट अनुदान रकम फाउन्डेसनलाई दिएको थियो। तर अहिले संघीय बजेट भएकाले ऐन, कानुन र कार्यविधिभित्र बसेर मात्र रकम खर्च गर्नुपर्ने बाध्यता रहेको महानगरको तर्क छ।

महानगर प्रमुख रेनु दाहालले यस विषयमा अर्थमन्त्री, सचिव र विज्ञसँग परामर्श गर्दा सोझै भुक्तानी गर्न नसकिने निष्कर्ष आएको बताइन्। “हामी चाँडो भुक्तानी गर्न चाहन्छौँ, तर कानुनी प्रक्रिया नमिलेकोले रोकिएको हो,” दाहालले बताइन्।

उपप्रमुख चित्रसेन अधिकारीले फाउन्डेसनलाई रकम दिन महानगर स्वयं इच्छुक रहेको तर “चाहनाले मात्र सरकारी रकम खर्च गर्न नसकिने” बताए। “भुक्तानीको बाटो खोजिरहेका छौँ, यस विषयलाई अतिरञ्जित नगर्न सबैलाई अनुरोध छ,” अधिकारीको भनाइ छ।

भरतपुर महानगरले आज सार्वजनिक गरेको विज्ञप्तिमा निजी व्यक्तिको निजी खर्च सरकारी रकमबाट भुक्तानी गर्नु अत्यन्त संवेदनशील कानुनी विषय भएकाले नियमित मापदण्ड पूरा गरेपछि मात्रै सम्भव हुने उल्लेख गरिएको छ।

फाउन्डेसनले २०७५ माघ १६ मा रङ्गशाला निर्माणको घोषणा गर्दै भरतपुर महानगरसँग सम्झौता गरेको थियो। आर्थिक व्यवस्थापनमा असफल भएपछि रङ्गशालाको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरिएको थियो। महानगरले अहिले ४५ प्रतिशत काम अघि बढाइसकेकाे छ भने फाउन्डेसनले ५७ करोड १२ लाख बराबरको काम गरिसकेको दाबी गर्दै १८ करोड ४३ लाख अझै उधारो रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्