अन्नपूर्ण आधार शिविरमा अवस्थित ‘पञ्चकुण्ड ताल’ चिसोले जम्यो, बरफमा हिँडडुल गर्न पर्यटक आकर्षण



म्याग्दी,मंसिर ६ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसो बढेसँगै पूर्ण रूपमा जमेर बरफको सतह बनेको छ। ताल जमेर एक ढिक्का भएपछि बरफमाथि मानिस हिँडडुल गर्न सक्ने अवस्थासमेत उत्पन्न भएको छ। समुद्री सतहबाट ४ हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रमा फैलिएको यो ताल आधार शिविर भ्रमणमा जाने पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ।

ग्लेसियर क्षेत्रमा फैलिएको यो ताल हिउँदयाममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले ‘पञ्चकुण्ड’ नाम दिइएको हो। मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यस तालको नाम ‘डिकिचो ताल’ राखेका थिए। पछि पाँच कुण्डजस्तो आकृति स्पस्ट देखिएपछि ‘पञ्चकुण्ड’ नाम प्रचलनमा आएको हो।

नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रा गरेपछि यस तालमा पुग्न सकिन्छ। आधार शिविर पुग्ने अधिकांश यात्रुका लागि यसै तालको अवलोकन पहिलो र मुख्य आकर्षण मानिन्छ। तालको परिसरबाट अन्नपूर्ण हिमालसहित फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनोरम दृश्य नजिकबाट अवलोकन गर्न सकिने हुँदा पर्यटक मोहनीमा पर्ने गरेका छन्।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्दा यही पदमार्ग प्रयोग गरेका थिए। सोही ऐतिहासिक मार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिस हर्जोग पदमार्ग’ को औपचारिक पहिचान गरिएको थियो। मिस्त्रीखोलाको किनारै किनार, झरना, दुर्लभ वनस्पति, वन्यजन्तु र अनौठो भूगोल अवलोकन गर्दै नारच्याङदेखि हुमखोला हुँदै २२ किलोमिटर पदयात्रापछि आधार शिविर पुगिन्छ।

चिसो बढेसँगै पञ्चकुण्ड ताल र वरपर सेताम्मे हिमालले आधार शिविर क्षेत्र थप मनोहरी देखिएको बेनीका सन्दिप खत्रीले बताए। अहिले यात्रु संख्या केही घटेको स्थानीय होटल व्यवसायी माइकल पुनको भनाइ छ। दशैं–तिहारलगायतका विदामा दैनिक २०० देखि ३०० पर्यटक आउने गरेकामा अहिले ५० को हाराहारीमा आएको उनले बताए।

शरद ऋतुमा मात्रै करिब १५ हजारभन्दा बढी पर्यटक आधार शिविर पुगेको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले जानकारी दिए। चिसो बढ्दै जाँदा ताल जमेर बरफ बन्नु यो मौसमको विशेष आकर्षणका रूपमा पर्यटकलाई लोभ्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्