पहिलोपटक सुरक्षण मुद्रण केन्द्रबाट छापिएको लाइसेन्स विभागलाई हस्तान्तरण, ‘क्युआर कोड’सहित ५२० थान वितरण
काठमाडौं,मंसिर ६ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई ‘क्युआर कोड’सहितको आधुनिक लाइसेन्स हस्तान्तरण गरेका हुन्।
गोरखापत्र दैनिक का अनुसार, परीक्षण छपाइ सफल भएपछि केन्द्रले पहिलो चरणमा ५२० थान लाइसेन्स उपलब्ध गराएको हो। केन्द्रलाई प्राप्त १ हजार २०० आवेदकका लागि दोस्रो चरणको छपाइ प्रक्रिया सुरु हुने सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। अब लाइसेन्स छपाइ नियमित रूपमा जारी रहने केन्द्रको भनाइ छ।
गत कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सम्झौताअनुसार छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गरि विभागलाई हस्तान्तरण गर्नुपर्नेछ। केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागले जति धेरै तथ्याङ्क पठाए पनि आफूहरूले सोही आधारमा छपाइ तीव्र गतिमा गर्ने बताए। उनका अनुसार नेपालमै रहेको प्रयोगशालामार्फत सबै परीक्षण पूरा गरिएका लाइसेन्स मात्रै विभागलाई हस्तान्तरण गरिएको छ।
यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले नयाँ लाइसेन्स हस्तान्तरणसँगै लामो समयदेखि रहेको ठूलो समस्या समाधानको दिशा लागेको बताए। ‘विगत चार–पाँच वर्षदेखि लाइसेन्स वितरणमा चुनौती थियो। सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेपछि समाधान प्रक्रियामा प्रवेश गरेको छ,’ उनले भने। विभागले वैकल्पिक सफ्टवेयर विकास गर्दै दैनिक दुई हजार तथ्याङ्क छपाइका लागि उपलब्ध गराउने तयारी गरेको छ। एक महिनाभित्र नयाँ सफ्टवेयर विकास हुने विभागले जनाएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ औपचारिक रूपमा सुरु गरिएको हो। नयाँ लाइसेन्समा क्युआर कोडसहित सुरक्षा विशेषता थपिएको बताइएको छ, जसले दुरुपयोग रोक्ने र पहिचान गर्दा सहज हुने अपेक्षा गरिएको छ।

