तीन वर्षको म्याद सकिँदै मुग्लिङ–मलेखु सडक ३५ प्रतिशत मात्र सम्पन्न, म्याद थप प्रक्रिया अगाडि



चितवन, मंसिर ६ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १५ मा ठेक्का लागेको मुग्लिङ–मलेखु सडक स्तरोन्नतिको काम निर्धारित समय पूरा हुँदै गर्दा अहिलेसम्म ३५ प्रतिशत मात्र भएको छ। यस सडक खण्डको म्याद आगामी पुस १५ मा सकिँदै छ।नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिङ–मलेखु सडक कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ।

डिजाइन परिमार्जन लगायतका कारण ठेकेदार कम्पनीलाई केही महिना म्याद थप गरिने व्यवस्था रहेको बताइएको छ। असारदेखि तिहारसम्म वर्षा र पर्वका कारण काम सुस्त भए पनि अहिले निर्माण तीव्र गतिमा भइरहेको मिश्रले जानकारी दिए।

यस सडकखण्डमा निर्माण सम्पन्न चार नयाँ पुललाई सडकसँग जोड्ने काम भइरहेको छ। पुल तथा अन्य भागमा बेरियर जडान र ड्रेनेज निर्माण भइरहेको छ। बचेका दुई पुलमध्ये चरौदी खोलाको पुलमा एक फाउन्डेसन तयार भइसकेको र अर्को निर्माणाधीन छ। हुग्दी खोलाको पुलका दुवै फाउन्डेसन तयार भइसकेका छन्। म्याद थप भएमा दुवै पुल निर्धारित समयमै सम्पन्न हुने बताइएको छ।

पुसमा म्याद थपिएपछि आगामी वर्ष वर्षा सुरु हुनुअघि नै नयाँ पुलबाट सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। थपिने म्याद एक वर्षको हुने र २०८३ पुसभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।

३८ किलोमिटरमध्ये १० किलोमिटरमा पहिले नै कालोपत्रे भइसकेको छ। अब थप १५ किलोमिटरमा कालोपत्रे गर्ने तयारी भइरहेको र पाँच किलोमिटरमा कालोपत्रे कार्य भइरहेको सूचना अधिकारी मिश्रले बताए। केही हप्ताभित्र बाँकी भागमा काम तीव्र पारिने जनाइएको छ।

यो परियोजना चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का भएको हो। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौं प्रवेश र निर्गमको मुख्य नाका भएकाले यातायात चाप धेरै हुने र कच्चा पदार्थ उपलब्धतामा समस्या हुँदा काम ढिलो भएको ठेकेदार कम्पनीले जनाएको छ।

कृष्णभिरको स्थायी समाधानको प्रयास

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वर्षेनी देखिने पहिरो र सडक भासिने समस्या पनि स्थायी समाधानको चरणमा प्रवेश गरेको छ। विज्ञहरुको अध्ययनपछि गत जेठदेखि माईक्रो पाइलिङ विधिबाट स्थायी समाधानका लागि काम सुरु भएको थियो। असारमा सकिने भनिए पनि वर्षाले ढिलाइ गरेपछि अहिले पुनः काम तीव्र पारिएको कार्यालयले जनाएको छ।

२०७५ साउनको पहिलो हप्तामा ठूलो पहिरो आएपछि कृष्णभिरको सडक बगेको थियो। अस्थायी रूपमा मर्मत गरी यातायात सञ्चालन गरिएको यो क्षेत्रमा पटक–पटक पहिरो लाग्दै आएको छ। गत वर्षको बर्खामा पहिरो गएका मुख्य स्थानमा सडक भासिएको थियो। यसपटक माईक्रो पाइलिङमार्फत स्थायी सुरक्षा संरचना निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्