दुप्चेश्वर धाममा साताव्यापी मेला तयारी तीव्र, ११ उपसमिति गठन
नुवाकोट, मंसिर ६ — नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा यस वर्ष धान्य पूर्णिमाको अवसरमा लाग्ने ऐतिहासिक दुप्चेश्वर मेला साताव्यापी रूपमा आयोजना हुने भएको छ। मेला तयारी तीव्र रहँदै, कोषले आन्तरिक तथा भौतिक व्यवस्थापनका काम सुरु गरिसकेको छ।
यस वर्ष मेला मंसिर १३ देखि सुरु भई १६ र १७ गते विशेष रूपमा मनाइने जानकारी दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले पत्रकार सम्मेलनमार्फत दिएका छन्।
मेला व्यवस्थित ढंगले संचालन गर्न ११ वटा उपसमिति गठन गरिएको छ। भेटी व्यवस्थापन, बजार व्यवस्थापन, जुत्ता–चप्पल व्यवस्थापन, स्वयंसेवक तथा सुरक्षा, मेष व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्रचार–प्रसार, बत्ति व्यवस्थापन, आरती तथा भजन व्यवस्थापन, फोहोर र शौचालय व्यवस्थापनका उपसमितिहरू काममा जुटिसकेका छन्।
मन्दिर परिसरसम्म मोटरबाटो पुगेकाले यातायातको चाप व्यवस्थापन गर्न पार्किङ शुल्क निर्धारण गरिएको छ। बसका लागि रु. २५०–३००, कार/ट्याक्सी रु. २००, मोटरसाइकल बिहान ६ देखि दिउँसो ३ सम्म रु. ५० र राति ३ पछि रु. १० लिइनेछ। जुत्ता र चप्पल राख्न पनि छुट्टै शुल्क निर्धारण गरिएको छ।
दुप्चेश्वर महादेव मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ। नेपाल, भारत, भूटान र बर्मालगायतका देशबाट भक्तजन आउने गर्दछन्। वैकल्पिक मार्ग, अपांगता र ज्येष्ठ नागरिकका लागि सहज पहुँच, भेटी संकलन, सुरक्षा, खानेपानी र सरसफाइ व्यवस्थापन थप सुदृढ बनाइने जनाइएको छ।
करेजुङ पहराको चिसो वातावरण, दुध र पशुचौपायासँग सम्बन्धित विशेष पूजा र दर्शनीय स्थलका कारण दुप्चेश्वरको आकर्षण बढिरहेको छ। विदुरबाट डेढ घण्टा र काठमाडौंबाट करिब दुई घण्टामा पुगिने यस धाममा दैनिक हजारौं भक्तजन पुग्ने गरेका छन्।
पत्रकार सम्मेलनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय नेतृत्व, पुजारी र सर्वसाधारणले दुप्चेश्वरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा ब्रान्डिङ गर्नुपर्नेमा जोड दिएका थिए।

