नयाँ बसपार्क नजिकै बुटामा पोको पारिएको अवस्थामा बेवारिसे शव फेला
काठमाडौं,मंसिर ६ — सरसफाइको क्रममा टोखा नगरपालिका ९ स्थित गोङ्गबु–नयाँ बसपार्क सडक खण्ड नजिक बुटाभित्र पोको पारिएको बेवारिसे अवस्थामा एक शव फेला परेको छ। शनिबार सरसफाइ अभियान सम्पन्न भएपछि फर्कने क्रममा शव फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
शव गोङ्गबुबाट नयाँ बसपार्कतर्फ जाने बाटोमा लोत्से महल नजिकै सडक छेउको बुटाभित्र पोको पारिएर फालिएको अवस्थामा भेटिएको सरसफाइ अभियानमा सहभागीहरूले बताएका छन्। शव कुहिएको र दुर्गन्धित अवस्थामा लिंग नचिनिने अवस्थामा भेटिएकोले घटनाको समय केही हप्ता अगाडि हुन सक्ने अनुमान गरिएको छ।
अभियानमा सहभागीहरुको भनाइअनुसार, सरसफाइको क्रममा यस्तो घटना देखिनु अत्यन्त पीडादायक र मानवता विरुद्धको जघन्य कार्य हो। स्थानीयहरूले घटनामा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्।
घटनास्थलमा प्रहरी पुगेर शवलाई पोस्टमार्टम तथा आवश्यक अनुसन्धानका जारी राखेको छ।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाएको र शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

