नुवाकोट शिवपुरीमा प्रचण्डको भव्य स्वागत
नुवाकोट,मंसिर ६ । — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको शिवपुरीमा शनिबार भव्य स्वागत गरिएको छ। शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा स्थानीय नेता र कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका हुन्।
प्रचण्ड आइतबार नुवाकोट आउने पूर्वजानकारी भए पनि बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने कारण शनिबार नै नुवाकोट आएको स्थानीय नेताहरूले बताएका छन्।
कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ७:३० बजे पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित सांस्कृतिक भवनको उद्घाटन प्रचण्डले गर्ने कार्यक्रम छ।
यस्तै, दिउँसो १२ बजे लिखु गाउँपालिकामा रहेको सहिद स्मृति केन्द्रको स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रम पनि प्रचण्डकै प्रमुख आतिथ्यतामा हुने जनाइएको छ। उक्त कार्यक्रम सहिद स्मृति केन्द्र लिखु संस्था र नेपाली कम्युनिस्ट पार्टी लिखु गाउँपालिका समितिले संयुक्त रूपमा आयोजना गरेका हुन्।
नुवाकोटका नेता हितबहादुर तामाङले स्वागत कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी औपचारिक कार्यक्रमहरूमा पनि स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

