नुवाकोट पञ्चकन्यामा हितबहादुर तामाङद्वारा ‘प्रचण्ड’लाई न्यानो स्वागत



नुवाकोट, मंसिर ६ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको पञ्चकन्यामा नेता हितबहादुर तामाङले न्यानो आतिथ्यतासहित स्वागत गरेका छन्। शनिबार साँझ शिवपुरी गाउँपालिका हुँदै पञ्चकन्या पुगेका प्रचण्डलाई तामाङले स्वागत गरेका हुन् ।प्रचण्डको साथमा छोरी द्वय रेणु र गङ्गा दाहाल समेत रहेका छन् ।

यसअघि प्रचण्डलाई शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा स्थानीय नेता तथा कार्यकर्ताले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए।

पूर्वजानकारीअनुसार प्रचण्ड आइतबार मात्र नुवाकोट आउने भनिएपनि बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने कारण शनिबार नै उनी नुवाकोट आएको स्थानीय नेताहरूले बताएका छन्।

कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ७:३० बजे पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित सांस्कृतिक भवनको उद्घाटन प्रचण्डले गर्नेछन।

त्यस्तै दिउँसो १२ बजे सहिद स्मृति केन्द्रको स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रम पनि प्रचण्डकै प्रमुख आतिथ्यतामा हुने जनाइएको छ। उक्त कार्यक्रम सहिद स्मृति केन्द्र लिखु संस्था र नेकपा लिखु गाउँपालिका समितिको संयुक्त आयोजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्