निर्वाचन नै राजनीतिक निकास, कांग्रेसको निर्वाचनमा सहभागी हुने निर्णय
काठमाडौं,मंसिर ६ — नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सही समाधान आगामी निर्वाचनमार्फत हुने ठहर गर्दै निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दल दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार निर्वाचनमार्फत संविधानको रक्षा र जेन्जी आन्दोलनका क्रममा उठाइएका जनमत तथा आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिने विश्वास कांग्रेसले राखेको छ। महतले भने, “निर्वाचन लोकतान्त्रिक मार्ग हो, संविधानको संरक्षण र जनताका आवाजको सम्मान यही प्रक्रियाबाट सम्भव छ।”
बैठकले आगामी निर्वाचन निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न शान्ति–सुरक्षा व्यवस्था सुधार, सुरक्षाकर्मीको士 मनोबल उकास्ने तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
प्रवक्ता महतले हजारौँ कैदीबन्दी फरार हुनु, ठूलो परिमाणमा हातहतियार हराउनु, दलहरूलाई कार्यक्रम गर्न अवरोध हुनुजस्ता घटनालाई गम्भीर चुनौती भएको भन्दै तत्काल समाधानका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए।

