छहरे–विदुर सडक स्तरोन्नति सुरु
नुवाकोट, मंसिर ६ । नुवाकोटको छहरे–विदुर सडकखण्डमा उत्पन्न विवाद सहमतिमार्फत समाधान भएपछि आजदेखि सडकको टालटुल मर्मत तथा स्तरोन्नति कार्य औपचारिक रुपमा सुरु भएको छ। RIP/33.7133/CB-07/2070-071 नंम्बरको ठेक्का सम्झौताअन्तर्गत निर्माण हुँदै आएको सो सडक बराफेदीदेखि छहरेसम्म विभिन्न स्थानमा खाल्डा–खुल्डी देखिन थालेपछि स्थानीयवासीले सुधारका लागि आवाज उठाएका थिए।
यस विषयमा कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा स्थानीय बासिन्दा र सडक योजनाका प्रतिनिधिहरूबीच छलफल भएको थियो। छलफलमा निर्माण व्यवसायीले मंसिर महिनाभित्र टालटुल मर्मत सक्ने प्रतिबद्धता जनाएका थिए। मर्मत सम्पन्न नहुँदासम्म स्थानीयले सहज सहयोग र कुनै अवरोध नगर्ने सहमति कागजमा उल्लेख गरिएको थियो।
सहमति प्रक्रियामा सडक योजनाका प्रतिनिधि दियेन्द्र यादव, नवराज थापा, रोशन भण्डारी, सुजन शाक्य र प्रकाश डङ्गोल उपस्थित रहेका थिए। सहमतिपत्रमा हस्ताक्षर गरी जिल्ला प्रहरी कार्यालयमार्फत नेपाल सरकारसमक्ष पेश गरिएको थियो।
सहमतिको निर्णयअनुसार आजदेखि छहरे पेट्रोल पम्प नजिकबाट रोलर प्रयोग गरी सडक सम्याउने, गिटी भर्ने र कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ।

