आज नुवाकोटका दुई कार्यक्रममा सहभागी हुँदै प्रचण्ड



नुवाकोट, मंसिर ७ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नुवाकोटमा आयोजना हुने दुई अलग कार्यक्रमहरूमा सहभागी हुँदैछन्।

नेताकार्यकर्तासँग भेटघाट र चर्चा–सम्वादका लागि शनिबार नै नुवाकोट पुगेका प्रचण्डलाई नेकपाका केन्द्रीय नेता हितबहादुर तामाङले न्यानो स्वागत गरेका थिए। शनिबार साँझ शिवपुरी गाउँपालिका हुँदै पञ्चकन्या पुगेका प्रचण्डलाई तामाङले औपचारिक स्वागत गरेका हुन्।

यसअघि शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा स्थानीय नेता तथा कार्यकर्ताले फूलमाला र अविरले सम्मान गर्दै भव्य स्वागत गरेका थिए।

कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ८ बजे, पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित सांस्कृतिक भवनको उद्घाटन प्रचण्डले गर्ने कार्यक्रम छ।

त्यस्तै दिउँसो १२ बजे सहिद स्मृति केन्द्रको स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रम पनि प्रचण्डकै प्रमुख आतिथ्यतामा हुने जनाएको छ। उक्त कार्यक्रम सहिद स्मृति केन्द्र लिखु संस्था र नेकपा लिखु गाउँपालिका समितिको संयुक्त आयोजनामा हुनेछ।

स्थानीय नेता तामाङले स्वागत कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यक्रमहरूलाई सफल बनाउन स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्