शिवपुरी गाउँपालिकामा आज शोक बिदा
नुवाकोट, मंसिर ७। शिवपुरी गाउँपालिकाले वडा नम्बर ८ मा कार्यरत कर्मचारी देवीबहादुर उप्रेती (बासु)को असामयिक निधनमा आज शोक बिदा दिएको छ।
गाउँपालिकाले जारी गरेको आधिकारिक सूचना अनुसार उप्रेतीको निधनले कार्यालय तथा स्थानीय समुदाय स्तब्ध बनेको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक दिन सेवा क्षेत्रका अत्यावश्यक बाहेक सम्पूर्ण कार्यालय बन्द रहने जनाएको हो।
स्व. उप्रेती शिवपुरी गाउँपालिका–८ वडा कार्यालयमा कर्मचारिका रूपमा कार्यरत थिए। शुक्रबार मलको ढिस्कोले पुरिएर उहाँको मृत्यु भएको जनाइएको छ। गाउँपालिकाले उप्रेतीको निधनले वडाको प्रशासनिक कार्यसम्पादन तथा सेवाप्रवाहमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।
शिवपुरी गाउँपालिकाले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।


