नुवाकोट शिवपुरीमा २०० विद्यार्थीको आँखा परीक्षण, १८ जनालाई निःशुल्क चस्मा सिफारिस



नुवाकोट, मंसिर ७ — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित एक विद्यालयमा विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ। शिवपुरी गाउँपालिका–३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा स्वास्थ्य जाँच शिवपुरी गाउँपालिका ग्रामीण आँखा केन्द्रको आयोजनामा गरिएको हो।

शिविरका क्रममा विद्यार्थीहरूलाई आँखाको स्याहार, सफाइ र दृष्टि संरक्षण सम्बन्धी जानकारी पनि प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत दृष्टि परीक्षण, चस्मा जाँच तथा परामर्शसहितको पूर्ण आँखास्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।

आयोजकका अनुसार कार्यक्रममा २०० विद्यार्थीको आँखा परीक्षण गरिएको थियो। जसमध्ये १८ जना विद्यार्थीमा दृष्टिदोष पाइएको र उनीहरूलाई निःशुल्क चस्मा उपलब्ध गराउन सिफारिस गरिएको ग्रामीण आँखा केन्द्रले जानकारी दिएको छ।

विद्यालयका शिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा यस प्रकारका कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै नियमित स्वास्थ्य जाँचको आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्