बेलकोटगढीमा धानबाली क्षतिपूर्ति वितरण सुरू, राहतका लागि ८० लाखको कोष स्थापना



नुवाकोट, मंसिर ७ — लगातार तीन साता अगाडिको अविरल वर्षाले नुवाकोटमा धानबालीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित किसानलाई राहत वितरण सुरू भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिकाले कात्तिक १२ देखि १५ गतेसम्मको झरीका कारण नष्ट भएको धानबालीको क्षतिपूर्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै राहत प्रदान गर्न थालेको हो।

नगरपालिकाले जनप्रतिनिधिहरूको एक महिनाको सम्पूर्ण सेवा सुविधा रकम राहत कोषमा उपलब्ध गराएको छ। साथै कार्यरत कर्मचारी र शिक्षकहरूको एक दिनको तलब पनि राहतका लागि छुट्याइने निर्णय गरिएको छ। जनप्रतिनिधिहरूको तर्फबाट मात्र कुल रु. ९ लाख ३७ हजार ५ सय जुटाइएको नगरपालिका कार्यालयले जनाएको छ।

त्यसैगरी नगर कार्यपालिकाको पूर्ण बैठकले ८० लाख रुपैयाँ बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको मेयर जगतबहादुर गुरुङले जानकारी दिएका छन्। उनका अनुसार क्षतिपूर्तिको प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

बेलकोटगढीलाई अन्न भण्डार’को रूपमा चिनिने नगरपालिकाका १३ वटै वडामा १,५५७ किसानको ७,७४५ रोपनी खेतमा रहेको धान क्षति भएको मेयर गुरुङले बताए। क्षतिको विवरण संकलनमा स्थानीयवासी, जनप्रतिनिधि, कृषि प्राविधिक तथा प्रहरीको सहकार्य रहेको थियो।

उपमेयर शिवप्रसाद दाहालका अनुसार राहत कोषमा आवश्यक थप रकम नगर विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। राहतका लागि किसानलाई वडा कार्यालयमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले क्षतिग्रस्त किसानलाई क्षतिको वर्गीकरणअनुसार तीन चरणमा राहत उपलब्ध गराउने बताएको छ। प्रारम्भिक रूपमा १ देखि ३ रोपनीसम्म का धानबाली नष्ट भएका किसानलाई प्रति रोपनी रु. १,३०० क्षतिपूर्ति उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्