भारतीय अन्डा रोकिँदा नेपालमा मूल्य वृद्धि, आइतबारदेखि नयाँ दर लागू
काठमाडौं, मंसिर ७ । भारतीय अण्डा नेपाल भित्रिन रोकिएको बेला नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा ठूलो वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले विभिन्न साइजका अण्डाको दर बढाएको हो।
भारतमा निर्वाचनका कारण सीमा नाकामा कडाइ हुँदा अण्डा नेपाल आउन नसकेको र यसले बजारमा माग बढाएको संघको भनाइ छ। संघले शनिबार बसेको बैठकमार्फत नयाँ दर तय गरेको हो।
नयाँ मूल्यअनुसार एक्सएल साइज (३० अण्डा) रहने क्रेट ५२० रुपैयाँ पुगेको छ। त्यसैगरी ठूलो साइजको अण्डा प्रति क्रेट ५०५ रुपैयाँ, मध्यम अण्डा ४९० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।
सानो साइजको अण्डा प्रति पेटी ३ हजार १ सय ५० रुपैयाँ पुर्याइएको छ। चितवनबाट लोड हुने भएकाले सबै अण्डाको पेटीमा डेलिभरी चार्ज १३० रुपैयाँ थप लगाइने संघले स्पष्ट पारेको छ।
संघका अनुसार एक अण्डा उत्पादनको लागत १६ रुपैयाँभन्दा बढी पर्न जाने अनुमान गरिएको छ। नयाँ दर लागू भएपछि बजारमा खुद्रा मूल्य २२५ देखि ३० रुपैयाँ प्रति अण्डा पुग्ने आँकलन गरिएको छ।

