एमाले नेता महेश बस्नेत सवार गाडीमा ‘जेन–जेड’ युवाद्वारा रातो रङ छ्यापियो



विराटनगर, मंसिर ७ । नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडीमा आइतबार बिहान ‘जेन–जेड’ युवाले रातो रङ छ्यापेका छन्। युवा संघको कार्यक्रममा सहभागी हुन विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका बस्नेतको गाडीमा सडक किनारबाट दौडिँदै गएका एक युवकले रातो मसी फ्याकेका हुन्।

बस्नेतको सुरक्षाका लागि पछिपछि चलिरहेको प्रहरी भ्यानको अगाडि रहेर गुडिरहेको गाडीमा एक युवकले बेलुनमा रङ भरेर छ्यापेको बस्नेतले बताए। घटनापछि सुरक्षाकर्मीहरूले सडक क्षेत्र आसपासमा निगरानी बढाएको छ।

नेता बस्नेतले आफ्नो सोशल–मिडिया तथा संक्षिप्त कुराकानीमार्फत भने, “विराटनगरबाट सुनसरी जाँदै गर्दा दुई जना युवाले बेलुनमा रङ भरेर हाम्रो गाडीमा फ्याके। यो योजनाबद्ध दुष्प्रयास जस्तो देखिन्छ।”

यसअघि पनि केही दिनअगाडि बस्नेत सिमरा जाँदै गर्दा कार्यक्रमस्थलमै अवरोध भएको थियो। हाल उनी पुनः पटक–पटक विरोधी समूहको निशानामा परेको देखिन्छ।

यस घटनासम्बन्धी विस्तृत विवरण र युवाहरूको पहिचानबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्