नुवाकोट लिखुमा सहिद स्मृति भवन उद्घाटन गर्दै प्रचण्डले भने- “समृद्धि सामाजिक न्यायबाटै सम्भव”



नुवाकोट, मंसिर ७। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक विभेद अन्त्य नगरी समृद्ध नेपालको सपना पूरा नहुने बताएका छन्। आइतबार नुवाकोटको लिखु गाउँपालिका ५ फर्सीडडागाउँमा सहिद स्मृति भवन, सहिद स्मृति पार्क र सहिदको शालिक अनावरण गर्दै उनले सामाजिक न्यायलाई पार्टीको मूल एजेन्डा रहेको स्पष्ट पारे।

प्रचण्डले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि परिस्थिती थप जटिल बनेको उल्लेख गर्दै भने, “हामीले संवाद, समझदारी र शान्तिपूर्ण आन्दोलनमार्फत सामाजिक न्यायको मुद्दा उठाएका थियौँ, तर सरकारले २३ गते परिस्थिती बिगार्यो र २४ गतेको विध्वंसको मार्ग रोज्यो।”

उनले नेकपा विगतदेखि नै सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको अभियान लिएर अघि बढिरहेको बताउँदै अब युवापुस्ताले पनि यो अभियानलाई सकारात्मक रूपमा बुझ्न थालेको दाबी गरे। प्रचण्डको भनाइअनुसार, देशभक्त र इमान्दार युवाहरु बिस्तारै पार्टीको आन्दोलनप्रति आकर्षित भइरहेका छन्।

प्रचण्डले भने, “हामीले लिएका संकल्प प्रतिक्रियावादी माग होइनन्। संविधानले सुनिश्चित गरेको सामाजिक रुपान्तरणको मुद्दा नै हाम्रो आन्दोलन हो, यही देशको समृद्धिको आधार हो।”

कार्यक्रममा नेकपा नेता हितबहादुर तामाङ, जिल्ला स्तर नेताकार्यकर्ताहरु, सहिद परिवार, स्थानीय प्रतिनिधि, बुद्धिजीवी तथा विविध क्षेत्रका सहभागीहरूको उपस्थिति थियो। सहिद भवन सञ्चालनमा आएपछि गाउँपालिकाले सहिद स्मरण, शिक्षा, राजनीतिक सचेतना तथा सांस्कृतिक गतिविधि गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्