नुवाकोट पञ्चकन्याका पूर्व उपाध्यक्ष सुरेन्द्र तामाङद्वारा एमाले परित्याग, प्रचण्डको हातबाट नेपाली कम्युनिस्ट पार्टी प्रवेश



नुवाकोट, मंसिर ७। नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ (कात्तिके भेग) का पूर्व निर्वाचित उपाध्यक्ष तथा नेकपा (एमाले) का स्थानीय नेता सुरेन्द्र बहादुर तामाङले आज एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (ने.क.पा) मा प्रवेश गरेका छन्।

पञ्चकन्या–३ घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन समारोहका दौरानमा तामाङले ने.क.पा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट खादा ग्रहण गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। तामाङ २०५४ सालमा तत्कालीन पञ्चकन्या गाउँविकास समितिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

पार्टी प्रवेश घोषणा गर्दै तामाङले एमाले नेतृत्वले दलाल, भ्रष्टाचारी तथा माफियाहरूको संरक्षण गरेको आरोप लगाए। उनले बदलिँदो राजनीतिक परिवेशमा जनतासँग नजिक, परिवर्तनको पक्षमा उभिने शक्तिको आवश्यकता महसुस भएको बताए।

उक्त कार्यक्रममा नेकपाका केन्द्रिय नेता हितबहादुर तामाङ, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा तामाङलाई स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्