गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार
गोरखा, मंसिर ८। गोरखाको सहिदलखन गाउँपालिका–४ सिँजालीस्थित विद्यालय भवन निर्माण स्थलमा कामरत चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सिँजाली माध्यमिक विद्यालयको भवन निर्माणमा संलग्न लजिस्टिक इञ्चार्ज ‘थोङ’माथि आइतबार राति सोही योजनामा काम गर्ने एक स्थानीय कामदारले आक्रमण गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिएका छन्।
थापाका अनुसार स्थानीय मिलन आलेले राति ८:१५ बजे भान्सा तयार गर्ने क्रममा विवाद भएपछि थोङमाथि खुकुरी प्रहार गरेका हुन्। टाउकोमा गम्भीर चोट लागेका चिनियाँ नागरिकलाई गोरखा अस्पतालमा उपचारका लागि पठाइएको छ।
त्यही क्रममा रसुवा घर भएका अर्को कामदारमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ। उनको ढाड, कान र गालामा चोट लागिएको वडाध्यक्ष थापाले बताए। घाइते दुबै जनालाई गोरखा अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र आक्रमणकारी मिलन आले फरार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताए। प्रहरी अहिले उनको खोजीमा परिचालन भएको छ।

