इलामकी ८३ वर्षीया बच्छीमायाले जन्माइन् २८ सन्तान
इलाम, मंसिर ८। इलाम नगरपालिका–६ की ८३ वर्षीया बच्छीमाया कठेतले १५ वर्षदेखि ४७ वर्षको उमेरसम्म जम्मा २८ सन्तान जन्माएको तथ्य सार्वजनिक भएको छ। उनले १४ छोरी र १४ छोरालाई जन्म दिएकी हुन्।
बच्छीमायाले करिब प्रत्येक वर्षमा एक बच्चा जन्माएको र औषधि उपचारको सुविधा नपाइकन घरमै सुत्केरी हुने गरेको परिवारले बताएको छ। हाल उनी कान्छा छोरासँग इलाममै बस्दै आएकी छन्।
वरिष्ठ प्रसूति विशेषज्ञ प्रा. जागेश्वर गौतमका अनुसार एक महिलाले २८ बच्चा जन्माउनु सम्भव रहेको र युगान्डाकी महिलाले ३८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेको उदाहरण समेत प्रस्तुत गर्नुभयो।
जन्मिएका २८ सन्तानमध्ये १४ सन्तानको सानै उमेरमा मृत्यु भएको बच्छीमायाले सुनाएकी छन्। अहिले बाँकी सन्तान देश–विदेशमा बसोबास गरिरहेको परिवारले जनाएको छ।
बच्छीमाया अहिले उच्च रक्तचाप, मधुमेह र घाँटीसम्बन्धी रोगबाट पीडित छन्। दुःखले भरिएको विगत सम्झिँदै उनी भन्छिन्, “जति सन्तान भए पनि पीडा सहनु र हात थाप्नुको विकल्प थिएन, आजका बुहारीछोरी त स्वर्गमै छन्।”

