एनपीएलमा आज दुई रोमाञ्चक खेल: अपराजित यात्रा कायम राख्न विराटनगर र सुदूरपश्चिम मैदानमा
काठमाडौं,मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ।
अपराजित यात्रामा रहेको विराटनगर आज पनि जित दर्ता गर्दै प्लेअफतर्फ सहज अग्रसर हुन चाहन्छ। पोखरा र काठमाण्डुविरुद्ध फराकिलो अन्तरले जित निकालिसकेको विराटनगरलाई यस पटक उपाधिको बलियो दाबेदारको रूपमा हेरिएको छ। घरेलु तथा विदेशी खेलाडीबीचको उत्कृष्ट तालमेल टोलीका लागि मुख्य शक्ति बनेको छ।
यता, साबिक विजेता जनकपुर बोल्ट्स पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले पराजित भएको थियो। कागजी रूपमा बलियो देखिए पनि आवश्यक योगदान खेलाडीबाट निकाल्न नसकिरहेको जनकपुरले आज विराटनगरविरुद्ध लय समाउने लक्ष्यसहित मैदान उत्रनेछ। गत संस्करण उद्घाटन खेलमा यी दुई टोली भिड्दा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। लगातार दुई खेल जितेको सुदूरपश्चिम आज पनि अपराजित रहँदै प्लेअफ नजिक पुग्ने योजनामा छ। गत वर्ष उत्कृष्ट खेल्दै फाइनलमा हार मानेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित अघि बढिरहेको छ। विदेशी ब्याटरहरूको बलियो साथ र तल्लोक्रमसम्म योगदान दिन सक्ने खेलाडीको उपस्थिति यसको प्रमुख बल बनेको छ।
पहिलो खेलमा चितवनसँग हार बेहोरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै सानदार पुनरागमन गरेको थियो। सो खेलमा मार्क वाटको विस्फोटक प्रदर्शन कर्णालीका लागि निर्णायक साबित भएको थियो। गत संस्करण रनरेटको आधारमा मात्र प्लेअफ पुगेको कर्णाली यसपटक सहज यात्रा सुनिश्चित गर्ने लक्ष्यमा छ।
८ खेल सकिँदा विराटनगर र सुदूरपश्चिम दुवै अपराजित रहँदै समान ४–४ अंक जोडेका छन्। नेट रनरेटमा विराटनगर शीर्ष स्थानमा रहेको छ। काठमाडौं गोर्खाजले ३ अंक, जनकपुर बोल्ट्सले १ अंक जोडेको छ भने पोखरा एभेन्जर्सले २ खेल खेलिसक्दा समेत कुनै खेल जित्न सकेको छैन।
एनपीएल यस वर्ष पहिलो पटक प्यारापिट र फ्लडलाइटमा आयोजना भइरहेको छ, जसले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ। हालसम्म ब्याटिङतर्फ विदेशी खेलाडीको प्रदर्शन प्रभावशाली देखिएको छ भने बलिङतर्फ नेपाली खेलाडीले उत्कृष्ट योगदान दिइरहेका छन्। आजका दुवै खेलले प्लेअफ समीकरणलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

