नुवाकोटको प्रगती माविमा विद्यार्थीलाई न्यायो कपडा वितरण



नुवाकोट,मंसिर ८ । विदुर–३ खड्गभन्ज्याडस्थित प्रगती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ। नविक कोइराला फाउण्डेशन अमेरिका शाखाको सहयोगमा आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई कपडा प्रदान गरिएको हो।

फाउण्डेशनमार्फत कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २ सय ९३ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा रिमालले जानकारी दिए। साथै, विद्यालयमा कार्यरत १९ शिक्षकलाई पनि न्यायो कपडा वितरण गरिएको फाउण्डेशनले जनाएको छ।

विदुर नगरपालिका–३ का वडा अध्यक्ष बद्री रिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रणभुवनेश्वरी क्याम्पसका क्याम्पस प्रमुख आरपी रिमाल, भूमिसुधार तथा भूमि आयोग नुवाकोटका पूर्व सदस्य माधव रिजालसहित फाउण्डेशनका प्रतिनिधिहरू उपस्थित थिए।

न्यायो कपडा पाएपछि विद्यार्थीहरू खुसी भएको विद्यालयले जनाएको छ। फाउण्डेशनले सामाजिक सेवामा विगतदेखि नै निरन्तरता दिँदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्