नुवाकोटमा ८ हजार मतदाता थप, फागुन २१ को निर्वाचन लक्षित नामावली संकलन सम्पन्न
नुवाकोट,मंसिर ८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता नामावली संकलन कार्य पूरा भएको छ। यस क्रममा नुवाकोट जिल्लाबाट नयाँ ८ हजार मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर थापा मगरका अनुसार बायोमेट्रिकमार्फत २ हजार ३८९ जनाले नाम दर्ता गरेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत ५ हजार ८ सय जनाले नाम दर्ता गराएका छन्।
नयाँ दर्ता भएकामध्ये पुरुष १ हजार ३५१ तथा महिला ८८१ जना रहेको कार्यालयले जनाएको छ। यसबाहेक अन्य जिल्लाका लागि नुवाकोटबाट १५६ जनाले नाम दर्ता गराएका छन्, जसमा ९१ पुरुष र ६६ महिला छन्।
आयोगले जेन–जेड (Gen-Z) लक्ष्यित अभियानसहित अध्यादेशमार्फत नाम दर्ता खुला गरेको थियो। पहिलो चरणमा कात्तिक ३० गतेसम्म समय तोकिए पनि दर्ता चाप बढेपछि मंसिर ५ गतेसम्म अवधि थपिएको थियो।
दर्ता अवधी सकिँदा देशभरबाट आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

