नुवाकोट लिखु–६ मा सार्वजनिक जग्गा छुट्टाउने काम सुरु, २ हजार रोपनीभन्दा बढी नापजाँच



नुवाकोट,मंसिर ८ । नुवाकोटको लिखु गाउँपालिका–६ मा सार्वजनिक जग्गा पहिचान र छुट्टाउने कार्य सुरु गरिएको छ। गाउँपालिकाको २०८२/८३ नीति तथा कार्यक्रम अनुसार वडाध्यक्ष सुमन भण्डारीको नेतृत्वमा आइतबारदेखि सार्वजनिक जग्गा नापजाँचको कार्य थालनी गरिएको हो।

वडाध्यक्ष भण्डारीका अनुसार वर्षौंदेखि स्थानीयले चर्चेर, भोगचलन गर्दै उपयोग गरिरहेका लिखु खोला तथा छहरे खोलाको दोभान क्षेत्रमा रहेको सार्वजनिक जग्गालाई अत्याधुनिक प्रविधियुक्त मेसिनमार्फत नापजाँच गरिएको छ। पहिलो चरणमा करिब २ हजार रोपनीभन्दा बढी जग्गा छुट्टिएको भण्डारीले जानकारी दिए।

नापजाँचका क्रममा केही स्थानमा विवाद आएपछि जनप्रतिनिधि, स्थानीय सरोकारवाला, सँधियार तथा युवाहरूको सहभागितामा समाधान गरिएको वडा कार्यालयले जनाएको छ।

यसअघि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको सो क्षेत्रलाई भविष्यमा सरकारी मातहत ल्याई खेलकुद मैदान, औद्योगिक ग्राम, कृषि उत्पादन क्षेत्र निर्माण गर्ने प्रस्ताव स्थानीयस्तरमा राखिएको छ।

सार्वजनिक जग्गा नापजाँचका लागि आवश्यक बजेट लिखु गाउँपालिकाले विनियोजन गरेको हो। गाउँपालिका अध्यक्ष धुर्ब श्रेष्ठ, उपाध्यक्ष तथा सम्पूर्ण कार्यपालिकाको चासो र पहलमा यो काम अघि बढाइएको वडाध्यक्ष भण्डारीले बताए।

वाढ्दो सहरिकरणसँगै सार्वजनिक जमिन मिचिँदै जाने अवस्थालाई रोक्न गरिएको यो कार्यलाई स्थानीय युवाले स्वागतयोग्य कदमको रूपमा लिई प्रत्यक्ष रूपमा फिल्डमा सहभागी भएर सहयोग गरेका छन्। वडाध्यक्ष भण्डारीले अन्य क्षेत्रहरूको नापजाँच पनि शीघ्र अघि बढाइने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्