छहरे महोत्सवमा शनिबार र सोमबार दर्शकको भीड, व्यापार भने अपेक्षाकृत कमजोर



• भरतसन्तोषी

नुवाकोट, मंसिर ८ । नुवाकोटको लिखु–६ थान्सिङ फाटमा भइरहेको लिखु छहरे महोत्सव शनिबार र सोमबार दर्शक उपस्थितिका कारण उत्साहजनक देखिएको छ। दुबै दिन झण्डै १५ सय अवलोकनकर्ताले महोत्सवमा सहभागिता जनाए। शनिबार बिदा परेको र सोमबार इन्द्रेणी सांस्कृतिक समूहको प्रस्तुतिका कारण भीड बढी देखिएको आयोजकले जनाएको छ।

अन्य दिन न्यून अवलोकनकर्ता भएकाले महोत्सव सामान्य झैँ देखिए पनि, दुई दिनको भीडले आयोजकलाई आशा जगाएको छ। महोत्सव संयोजक नवराज ढुंगानाका अनुसार दर्शकको उपस्थिति राम्रो भए पनि व्यापार भने अपेक्षाकृत कमजोर भएको छ। उनका अनुसार वृद्धवृद्धालाई निशुल्क र विद्यार्थीलाई ५० प्रतिशत छुटमा प्रवेश गराइएको छ। नयाँ आगन्तुक दर्शक न्यून भएकाले व्यापार सन्तोषजनक हुन नसकेको उनको भनाइ छ। प्रति कलाकार ५० हजार माथि दिनुपर्ने र इन्द्रेणी सांस्कृतिक समूहले मात्र २ लाख ५० हजार बढी खर्च व्यहोर्नुपर्ने बाध्यता आयोजकको छ।

मंसिर ३ देखि सुरु भएको महोत्सवमा अधिकांश दिन अपरान्हपछि सीमित दर्शकमाझ कलाकारको प्रस्तुति दिँदै कार्यक्रम अन्त्य गर्नुपरेको बताइन्छ। धेरैजसो स्थानीयलाई आलु खेतीमा व्यस्तता भएकाले अवलोकनकर्ता घटेको अनुमान गरिएको छ। त्यस्तै प्रचार–प्रसार कमजोर भएकोले पनि भीड नजमेको स्थानीयको टिप्पणी छ। उनीहरूले जिल्लास्तरको सहभागिता र आकर्षक कार्यक्रमले मात्र महोत्सव सफल हुन सक्ने सुझाव दिएका छन्।

भद्रूटारका सुमन सिटौलाले महोत्सवमा लिखु क्षेत्रका सांस्कृतिक धरोहर, मठमन्दिर, स्थानीय जातजाति, विद्यालय कला तथा स्थानीय उत्पादनका फलफूलसमेत उचित रूपमा प्रदर्शन नभएको जनाए। शिक्षक मधुसूदन पौडेलका अनुसार डिजिटल युगमा सामान्य प्रस्तुति मात्र हेर्न दर्शक महोत्सवसम्म आउन रुचाउँदैनन्।

स्थानीयहरूका अनुसार, विगतका कटु आलोचनापछि यसपटक पनि महोत्सवले अपेक्षित प्रभाव छोड्न नसक्ने संकेत देखिएको छ। हेलिकप्टरमार्फत गोसाइँकुण्ड अवलोकन गराइने प्रचार गरिएको भए पनि, उपस्थिति केवल नारामा सीमित भएपछि महोत्सवको विश्वसनीयताबारे प्रश्न उठेको छ। स्थानीयले यसरी चल्ने हो भने छहरे महोत्सव स्थायित्व गुमाउने चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्