कप्तान ऐरीको चमकसँगै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो खेलमा विजयी
काठमाडौं,मंसिर ८ । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ। सोमबार साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
तीन खेलबाट ६ अंक सहित सुदूरपश्चिम जारी लिगमा अपराजित रहने टोली बनेको छ। लगातार तीन खेल जितेको विराटनगर किङ्स पनि समान ६ अंकसहित दोस्रो स्थानमा छ। तीन खेलमा दोस्रो हार व्यहोरेको कर्णालीले भने दुई अंक मात्र जोड्न सफल भयो।
एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमै ९४ रनमा समेटिँदा सुदूरपश्चिमका बलरहरू घातक बने। पवन सर्राफले २७, मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४ तथा गुलशन झा र अर्जुन घर्तीले समान १३ रन बनाएका थिए। बलिङमा कप्तान ऐरीले २३ रन खर्चेर ४ विकेट लिँदै ‘म्यान अफ द म्याच’ बने। हर्मित सिंह र अविनाश बोहराले २–२ विकेट, हेमन्त धामी र स्कट कुगेलेइजनले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। कप्तान ऐरीले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन थप्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। आरिफ शेखले २५ बलमा तीन चौकासहित २७ रन, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोड़े।
कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए। नन्दन यादवले २ तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट झारे।

