एमाले नुवाकोटमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दस्तुर १० हजार निर्धारण
नुवाकोट,मंसिर ९ । नेकपा (एमाले) नुवाकोटले ११औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न इच्छुक उम्मेदवारबाट १० हजार रुपैयाँ दस्तुर लिने निर्णय गरेको छ। मंसिर ६ गते बसेको जिल्ला कमिटी बैठकले उम्मेदवारी शुल्क निर्धारण गरेको हो।
एमालेले मंसिर १३ गते देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छान्ने कार्यक्रम तय गरेको छ। ६ लाख ६७ हजार सदस्यमध्ये करिब एक हजार प्रतिनिधि चयन हुनेछन्। सो अनसार जिल्ला कमिटी नुवाकोटले अन्तर–कमिटी निर्देशन–२ जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेको छ।
कार्यक्रमअनुसार सोमबार बिहान ११ बजे मतदाता नामावली प्रकाशित गरिएको छ। मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दाबी–विरोध र सोही दिन साँझ ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। मंसिर १० गते प्रतिनिधि सभा बैठक बसेर सहमतिको प्रयास गरिने, सहमति नभए निर्वाचन हुने कमिटीले जनाएको छ।
नुवाकोट जिल्लामा दुई क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन्। दुवै क्षेत्रबाट युवा १, महिला २ र खुला ४ गरी ७ प्रतिनिधि चयन हुनेछन्। यसबाहेक दलित क्लस्टरबाट जिल्लाबाट एक जनाले मात्र प्रतिनिधित्व पाउने व्यवस्था गरिएको छ।
१० हजार रुपैयाँ दस्तुर तोकिएको निर्णय पार्टीको आतंरिक निर्देशिकाविपरीत रहेको भन्दै केही सदस्यहरूले आपत्ति जनाएका छन्। एमालेको ११औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ।



