‘फोनसमेत नउठाएको’ आरोपमा जेनजी समूहको प्रधानमन्त्री कार्कीलाई चेतावनी
काठमाडौं,मंसिर ९ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना माग र संवादबाट पन्छिन खोजेको आरोप लगाउँदै आपत्ति जनाएको छ। उनीहरूका अनुसार सोमबार दिनभर प्रधानमन्त्रीसँग सम्झना, संवाद र भेटका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन स्विच अफ गरिदिएको र सम्पर्कमै आउन नचाहेको भन्दै खेद व्यक्त गरिएको छ।
समूहका अभियन्ता सुशील बुढाथोकीले प्रधानमन्त्रीको सचिवालयमै आफ्ना आफन्त र नातेदारलाई नियुक्ति गरिएको घटनापछि आफूहरू भेट्न सिंहदरबार पुगेको बताए। तर प्रधानमन्त्रीसँग सम्पर्क हुन नसकिएको तथा गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि संवाद स्थापित गर्न नसकेपछि निराश भएर फर्किनुपरेको उनको भनाइ छ।
प्रधानमन्त्रीले जेनजीहरूको आवाज सुनिने धैर्यता पनि नराखेको आरोप लगाउँदै अभियानकर्ताहरूले चेतावनी दिएका छन्। ढुंगाना समूहले सुशासनको पक्षमा काम नगरेको भन्दै प्रधानमन्त्री कार्कीको राजीनामा मागसहित ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो। तर फोन सम्पर्क असफल भएपछि उनीहरूले सो ज्ञापनपत्र सिंहदरबार दक्षिण गेटको भित्तामा टाँसेर प्रतिवाद गरेका छन्।
अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले सम्पर्कमा आउन नचाहनुको कारण सार्वजनिक गर्नुपर्ने मागसमेत राखेका छन्।

