विदुर खानेपानी उपभोक्ता संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कर्मचारीलाई सम्मान
नुवाकोट,मंसिर ९ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित संस्थाले उत्कृष्ट योगदान पुर्याउने दुई कर्मचारीलाई विशेष सम्मान प्रदान गरेको छ।
सम्मानित कर्मचारीहरूमा प्रमुख कार्यालय सहायक आयुष अधिकारी र फिल्ड मिटर रिडर राजु सिलवाल रहेका छन्। उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिँदै निरन्तर उत्कृष्ट काम गरेको आधारमा उनीहरूलाई संस्थाका जेष्ठ सदस्य बसन्तलाल श्रेष्ठ, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा संस्थाका अध्यक्ष सन्जिबबहादुर श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरिएको हो।
यस्तै, कार्यक्रममा डिहीगाउँ धैबुङ्ग खानेपानी सुरक्षा एवं सरसफाई समूह पनि सम्मानित गरिएको संस्थाले जनाएको छ। कर्मचारीको मनोबल वृद्धि र कार्यसम्पादनमा निखार ल्याउन यो सम्मान महत्वपूर्ण कदम हुने संस्थाको विश्वास छ।

