नुवाकोट लिखुमा विद्यालय आँखाजाँच कार्यक्रम : १३ विद्यालयका १,२१६ विद्यार्थी लाभान्वित हुने
नुवाकोट, मंसिर ९— “विद्यालय आँखाजाँच कार्यक्रम” अन्तर्गत लिखु गाउँपालिकाभित्र रहेका १३ विद्यालयका १,२१६ विद्यार्थीलाई दृष्टि स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरिएको छ। उक्त कार्यक्रम Tilganga Institute of Ophthalmology, Likhu Rural Eye Center द्वारा The Fred Hollows Foundationको सहयोग र लिखु गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको हो।
कात्तिक २८ गतेबाट सुरु भएको स्कूल आइ हेल्थ स्क्रिनिङ कार्यक्रम मंसिर २३ गतेसम्म निरन्तर चल्नेछ। अभियानका क्रममा विद्यार्थीहरूमा दृष्टिदोष, आँखाका रोग, दृष्टि विकाससम्बन्धी समस्या, चश्माको आवश्यकता तथा विभिन्न नेत्र जटिलताहरू पहिचान गरी आवश्यक परामर्श, उपचार तथा चश्मा वितरण गरिने उल्लेख गरिएको छ।
यस कार्यक्रमबाट महेन्द्रदय जनसेवा आधारभूत विद्यालय, बच्छलादेवी माध्यमिक विद्यालय, रतनदेउ आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, नारायणीदेवी माध्यमिक विद्यालय, महेन्द्र महेँशदेव माध्यमिक विद्यालय, निरञ्जना आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, गणेश सूर्य आधारभूत विद्यालय, नवप्रकाश आधारभूत विद्यालय, सिद्धि गणेश आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन्।
शिक्षालयमै नियमित आँखाजाँचमार्फत बालबालिकाको दृष्टि संरक्षण, सिकाइ क्षमता वृद्धि र दीर्घकालीन नेत्र रोग नियन्त्रण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।

