पञ्चकन्या–५, भद्रुटारमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण सम्पन्न



नुवाकोट,मंसिर ९ — निरन्तर रूपमा सञ्चालन हुँदै आएको सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जागरूकता अभियान अन्तर्गत पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित “सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम” सोमबार वडा नं. ५, चुहानडाँडास्थित बच्छला माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रम वडा अध्यक्ष माधव प्रसाद सिटौलाको अध्यक्षतामा तथा गाउँपालिका कार्यपालिका सदस्य चन्द्रावती श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरी गिरी, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, वैदेशिक रोजगारीमा गइसकेका तथा फर्किएका परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण रोजगार सेवा केन्द्रका संयोजक सरोज कुमार खातीले गर्नुभएको थियो भने सञ्चालन मनोसामाजिक परामर्शकर्ता सुष्मा राउतले गर्नुभएको थियो। कार्यक्रमले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने प्रक्रिया, कानुनी सुरक्षा, आवश्यक कागजात, जोखिम तथा ठगीबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरेको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्