नुवाकोट पञ्चकन्यामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
नुवाकोट,मंसिर ९ । “सबै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौं, एकजुट बनौं” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय मूल नाराका साथ पञ्चकन्या गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ।
गाउँपालिकाका उपाध्यक्ष विमला के. सी.को अध्यक्षतामा शुक्रबार आयोजित शुभारम्भ कार्यक्रम सेतो रिबन लगाएर सम्पन्न गरिएको हो। हिंसा विरुद्ध शून्य सहनशीलता अपनाउने सन्देशसहित सुरु गरिएको यस अभियानले मंसिर १० देखि मंसिर २४ (पूर्व २५ नोभेम्बरदेखि १० डिसेम्बर) सम्म महिलामाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध सचेतना फैलाउने उद्देश्य लिएको छ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अभियानको क्रममा महिला अधिकार, डिजिटल सुरक्षा, क्षमता अभिवृद्धि तथा हिंसा रोकथामसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

