नुवाकोटको विदुर–५ पिपलटारमा सडक दुर्घटना: वृद्धको मृत्यु, २ जना घाइते



नुवाकोट,मंसिर ९। नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशुली सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार साझ ५:३० बजे गल्छीबाट बट्टारतर्फ आइरहेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।

दुर्घटनामा परि लगभग ८० वर्षीय लिलानाथ कोईराला गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा गम्भीर चोट लागेका कोईरालाको उपचारका क्रममा साँझ ६:१५ बजे त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

सो दुर्घटनामा मोटरसाइकल चालक जिल्ला लम्जुङ सुन्दरबजार नगरपालिका–५ का २६ वर्षीय जीवन तामाङ समेत घाइते भएका छन्। उनको दुवै हात र खुट्टामा चोट लागेको छ। साथै मोटरसाइकलको पछाडि सवार ३१ वर्षीय विष्णु थापा बाँया हात र कम्मरमा चोट लागेर घाइते भएका छन्। दुवैजना मध्यम अवस्थाका घाइते रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्