लालबन्दीमा आत्मदाह प्रयासपछि पुरुषको मृत्यु



सर्लाही,मंसिर १० । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मङ्गलबार साँझ लालबन्दी–७ डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर आगो लगाएका झापा गौरादह–२ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले गम्भीररूपमा जलेका उनलाई स्थानीयले पानी र बालुवा प्रयोग गरी उद्धार गरेका थिए। प्रारम्भिक उपचारपछि उनलाई राति जनकपुर पठाइएको थियो। परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ।

पोखरेलले आत्मदाह गर्नुअघि किन पेट्रोल छर्किएको कारण खुल्न बाँकी छ। केही समयदेखि उनी घरमा कम बस्ने र मन्दिर तथा मठमा रहने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। शव पोस्टमार्टमका लागि जनकपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्