फागुन २१ का लागि दल तयार, निर्वाचन वातावरण स्पष्ट : प्रवक्ता खरेल
काठमाडौँ, मङ्सिर १०। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल तयार भइसकेको बताएका छन्। मङ्सिर ८ गतेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले दलहरू गाउँदेखि जिल्लासम्म चुनावमुखी कार्यसूची अघि बढाएकाले मुलुकमा स्पष्ट निर्वाचन वातावरण बनेको दाबी गरे।
सञ्चारमन्त्री खरेलका अनुसार चुनावमा सहभागी नहुने अडान लिँदै आएको नेकपा (एमाले) समेत निर्वाचन आयोगमा दल दर्ता भएपछि अब सबै दलको सहभागिता सुनिश्चित भएको छ। खरेलले आठ लाखभन्दा बढी मतदाता नामावली दर्ता भइसकेको र सुरक्षासम्बन्धी योजना तदनुसार कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिए।
समन्वय समिति गठन र अन्य निर्णय
मन्त्रिपरिषद्ले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा पूर्वाधार विकाससम्बन्धी कार्यमा अनुगमन र समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। विशेष आर्थिक क्षेत्रको भाडादर प्रतिवर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि बैठकले अनुमोदन गरेको छ।
भदौ २३ र २४ का आन्दोलनमा घाइते भएका व्यक्तिको उपचार तथा राहतमा सहयोग गर्न गृह मन्त्रालयकै ‘हेल्प डेस्क’ मा काम गर्ने अधिकतम १० जनालाई मासिक १५ हजार रुपैयाँको दरले चार महिनासम्म सुविधा उपलब्ध गराउने निर्णय भएको छ।
संरक्षित क्षेत्रमा खानेपानी, सडक, पुल, प्रसारण लाइन, स्वास्थ्य सेवा लगायतका आधारभूत पूर्वाधार निर्माणका कार्य कानुनबमोजिम वन जग्गा प्रयोग गर्ने प्रक्रियाबाट अघि बढाइने मन्त्री खरेलले बताए।
यससँगै राष्ट्र योजना आयोगका सचिव गोकर्णमणि दुवाडीको अवकाश स्वीकृत गरिएको र सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गरिएको बैठकले निर्णय गरेको छ। विज्ञान तथा प्रविधिका सचिव विश्वबाबु पुडासैनीलाई चीन, बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सहभागितासमेत स्वीकृति प्रदान गरिएको छ।

