गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार



गुल्मी,मंसिर १० । उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले कृषि तथा पशुपालनमार्फत आत्म रोजगार सिर्जना गर्दै आर्थिक योगदान पुर्‍याएका जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । कुल ३२ जनामध्ये ८ जनालाई नगदसहित पुरस्कार तथा २४ जनालाई सम्मान पत्र प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ ।

सम्मानितमध्ये पत्रकारिताको क्षेत्रबाट उद्योगीहरूमा समाचार सम्प्रेषण गरे बापत जिल्लामा क्रियाशील ४ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो । नगद पुरस्कार प्राप्त गर्ने उद्यमीहरूमा रेसुङ्गा नगरपालिका८ स्थित भलामी कृषि फर्म, मुसिकोट नगरपालिका१ स्थित रचेबाजियाल ड्रागन तथा प्यासन फलफूल विकास परियोजना, रेसुङ्गा६ स्थित समिर कृषि तथा पशुपक्षी फर्म, रेसुङ्गा८ स्थित न्यु पोखरेल बेकरी तथा चाउमिन उद्योग लगायतका फर्महरू रहेका छन् ।

त्यसै गरी मुसिकोट४ को सालिमे किबी तथा पशुपक्षी फर्म, रेसुङ्गा४ को शैलेस सिलाइ कटाइ तालिम केन्, मालिका६ को पार्वता अर्ग्यानिक कफी नर्सरी, र रेसुङ्गा१२ को गोपाल तरकारी घुम्ती फर्म पनि नगदसहित सम्मानित भएका छन् ।

कार्यालय प्रमुख राजीव अर्यालका अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने फर्महरूले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित खादा र सम्मान पत्र प्राप्त गरे । उहाँले उद्यमशीलता विकासमा थप प्रेरणा जगाउन कार्यालयले प्रत्येक वर्ष उद्योग दिवसका अवसरमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गर्ने गरेको बताउनुभयो  ।

कार्यालयले सीप विकास, प्रविधि हस्तान्तरण र व्यावसायिक सक्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूमार्फत उद्यमीलाई निरन्तर सहयोग गर्दै आएको अर्यालको भनाइ छ । उद्योग दिवसकै अवसरमा जिल्लाका प्रत्येक स्थानीय तहबाट दुई दुई उत्कृष्ट उद्यमी छनोट गरिएको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अधिकारी होमनाथ काले, इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुली, पत्रकार महासङ्घ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्याललगायतले स्थानीय उद्योगको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उद्योगीहरूलाई सम्मान गर्दै जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले देशमा समग्र क्षेत्रमै परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै किसान र उद्यमीको आशा पूरा गर्न नीतिगत तथा संरचनागत सुधार अनिवार्य भएको बताउनुभयो ।
समारोहमा सहभागी विभिन्न क्षेत्रका उद्यमीहरूले कर्जा पहुँच, बजार अभाव, उत्पादनको मूल्य निर्धारण, माटो परीक्षण तथा उपयुक्त प्रविधिको आवश्यकता, अनुदान तथा उपकरण सहयोगलगायतका विषयमा आना माग र समस्या राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्