धनगढीमा नेता महेश बस्नेत आगमनपछि झडप, केही घाइते



धनगढी, मङ्सिर १० । धनगढीमा नेकपा (एमाले)का नेता महेश बस्नेत आगमनपछि जेनजी समूह र एमाले निकट युवाबीच सामान्य झडप भएको छ। बस्नेतको विरोधमा जेनजीद्वारा गरिएको प्रदर्शनपछि वातावरण केही तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।

नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागतपछि कार्यक्रमस्थलतर्फ लैजाँदै गर्दा जेनजी मार्गनजिक हसनपुर क्षेत्रमा प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरू र एमालेको भातृसङ्गठन युवा समूहबीच धक्का–मुक्की भएको थियो।

झडपका क्रममा धनगढी–४ की जेनजी अगुवा सरिता जोशीसहित केही जेनजी कार्यकर्तालाई चोट लागेको बताइएको छ। सरिताको हातमा चोट लागेपछि अस्पतालमा उपचार भइरहेको जेनजी नेताहरूले दाबी गरेका छन्।

जेनजी समूहले नाराबाजी गर्दै बस्नेतको विरोधमा प्रदर्शन गरेको थियो। नेता बस्नेत धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न कैलाली पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्