नुवाकोटमा एमाले प्रतिनिधि चयनमा १० हजार शुल्कबारे नेता पूर्णलाल श्रेष्ठको आपत्ति



नुवाकोट, मङ्सिर ११ । नेकपा (एमाले) नुवाकोट क्षेत्र नं. १ का नेता पूर्णलाल श्रेष्ठले आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट र नामदर्ता शुल्क प्रक्रियाप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्वको व्यवहार ‘अलोकतान्त्रिक र विभेदपूर्ण’ भएको दाबी गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै श्रेष्ठले आर्थिक रूपमा कमजोर, तर दीर्घ समयदेखि पार्टीका लागि समर्पित कार्यकर्ताहरूलाई प्रतिनिधित्वबाट बञ्चित गर्ने निर्णय अस्वीकार्य भएको बताएका छन्। उनले नामदर्ता शुल्क १० हजार रुपैयाँ अनिवार्य गरिनुले इमानदार कार्यकर्तालाई नै बाहिर धकेलिएको आरोप लगाएका छन्।

श्रेष्ठले लेखेका छन्, “समावेशिता, समान अवसर र सामूहिक नेतृत्वको सिद्धान्तविपरीत आर्थिक कारणका आधारमा कार्यकर्तालाई प्रतिनिधि बन्न नदिइनु गम्भीर अन्याय हो।”

जिल्ला इञ्चार्ज र जिल्ला कमिटी अध्यक्षले छलफलविहीन र एकल निर्णय गरेको आरोप लगाउँदै उनले यस्तो व्यवहारले संगठनभित्र निराशा र अविश्वास बढाएको टिप्पणी गरेका छन्।

पार्टीभित्र पारदर्शिता, कार्यकर्ताको सम्मान र स्वस्थ परम्पराको सुनिश्चितताका लागि माग गर्दै श्रेष्ठले वर्तमान निर्णयले संगठनलाई कता लैजाने प्रश्न उठाएको उल्लेख गरेका छन्।

यसै असन्तुष्टिका बीच नुवाकोटका वरिष्ठ नेता श्यामराज पाठकले पार्टी परित्याग गरेका छन्। पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत ४० वर्ष लामो वैचारिक यात्रा समाप्त गरेको घोषणा गर्दै अहिलेसम्म साथ र सद्भाव दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्