निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपियो



काठमाडौं,मंसिर ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपिएको छ ।

निर्वाचन आयोगको बुधबारको बैठकले मंसिर १४ गतेसम्मको लागि दल दर्ताको समय थप गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा भाग लिन दल दर्ताको समय हिजोसम्म तोकिएकोमा सरोकारवालाको आग्रह र दल दर्ताको स्थिति समेतलाई ध्यानमा राखेर आयोगले दलदर्ताको समय ४ दिन थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नरायण प्रसाद भट्टराइले बताउनुभयो ।

निर्वाचनमा सहभागिताका लागि दल दर्ता अनिवार्य हुने हुँदा काँग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलसँगै नयाँ दलहरु पनि दर्ता भएका छन् ।

हालसम्म १ सय ५ वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दल दर्ता गराइसकेको र अन्य दलहरु अझै दर्ता कै क्रममा रहेको पनि प्रवक्ता भट्टराइले जानकारी दिनुभयो ।

कार्तिक २८ गते निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयसीमा मंसिर १० गते सम्मको समय दिएको थियो ।

हालसम्म आयोगमा १ सय ३५ राजनीतिक दल दर्ता भएका छन् भने त्यसमध्ये निर्वाचनका लागि १ सय ५ दल दर्ता भएको र बाँकी २५ वटा दलले दर्ताको लागि निवेदन दिइसकेको आयोगले जनाएको छ ।

आयोगमा पहिलेदेखि दर्ता रहेका राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्