बागमतीका १४ नवउद्यमी सम्मानित
मकवानपुर,मंसिर ११ । बागमती प्रदेश सरकारले ११ औँ उद्योग दिवसका अवसरमा १४ जना नवउद्यमीलाई सम्मान गरेको छ ।
नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी कुल १४ जना उद्यमीलाई नगदसहित सम्मान गरिएको हो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत कार्यक्रममा आधारित रही मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख उपस्थितीमा जिल्लागत उद्यमीहरूलाई सम्मान गरिएको हो । यस वर्षको सर्वोत्कृष्ट उद्यमीका रुपमा नुवाकोट जिल्ला, म्यागङ गाउँपालिका–३ देउरालीस्थित चिया कृषि फर्म का सेल्टर तामाङ सम्मानित हुनुभएको छ । २०५८ सालदेखि एक सय रोपनी क्षेत्रमा चिया खेती गर्दै आउनुभएका तामाङलाई बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ नगद र सम्मानपत्र सहित सम्मान गरेको हो । तामाङले अर्थोडक्स चिया प्रशोधन तथा उत्पादनसँगै किवी, गोलभेडा, काक्रो तथा अन्य तरकारी खेती गर्दै आउनु्भएको छ । गत आर्थिक वर्षमा उहाँले करिब १० लाख बराबरको चिया, १५ लाखको गोलभेडा, ५ लाखको किवी, ५ लाखको काक्रो तथा २ लाखभन्दा बढी अन्य तरकारी बिक्री गर्नुभएको थियो । केही वर्ष वैदेशिक रोजगारीमा बसेका तामाङले हाल १३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आउनुभएको छ ।
कार्यक्रममा मकवानपुरबाट ज्याती दामन कृषि फार्म थाहा, नमूना एग्रे प्रोडक्स काभ्रे धुलिखेल, ग्यालेक्सि मौरी फार्म दोलखा, चम्पक पाउँ भक्तपुर, स्पेशल पुष्टकारी ललितपुर, नमुन्चेल कृषि फार्म ककनी नुवाकोट, सुन्धुलि साबुन उदोग सिन्धुली, पवित्रा कृषि तथा पशुपंक्षी फार्म धादिङ, चितवन अर्वान बुटिक, द हाइल्या०ड आर्ट फेसन डिजाइन काठमाडौं, जौडाडाँ ढाका उद्योग सिन्धुपाल्चिोक र रसुवाको राजेश कृषि तथा पशुपन्छी फार्म लाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको छ । उत्कृष्ट भएका उद्यमीहरूलाई जनही ४० हजारसहित सम्मान गरिएको थियो । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठका अनुसार नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ बमोजिम आवेदन दिएका मध्ये प्रत्येक जिल्लाबाट सर्वाधिक अंक प्राप्त गरेका तीन उद्यमीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो । अन्तिम छनोट मन्त्रालय स्तरीय समितिबाट अंकका आधारमै गरिएको उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले उद्यमशीलता प्रवद्र्धनका लागि उद्योगमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रम स्थद परिसरमा उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमीहरुले आआफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि समेत गरेका थिए । प्रदर्शनीमा कृषि, घरेलु उद्योग, ढाका, मौरीका उत्पादन लगायतका स्टल राखिएको थियो । स्टलको मुख्यमन्त्री सहित बागमती प्रदेशका मन्त्रीहरुले अवलोकन गरेका थिए ।

