गोरखामा किवी बारीमै कुहिँदै, किसान तनावमा
गोरखा,मंसिर ११। धार्चे गाउँपालिकामा किवी उत्पादन बढे पनि बजारसम्म पुर्याउन नसक्दा किसान संकटमा परेका छन्। आठ वर्षदेखि व्यावसायिक खेती हुँदै आएको रुञ्चेतमा १८ किसानले एकदेखि १२ रोपनीसम्म किवी लगाइरहेका छन्। उत्पादन बढे पनि मोटरबाटो नहुँदा फल बारीमै कुहिने अवस्था आएको किसानहरूको गुनासो छ।
बारम्बार पहिरोले बाटो बिग्रँदा थोक बजारसम्म किवी लैजान नसकिएको किसानले बताएका छन्। ‘किवी पकेर बोटमै कुहिने भयो’, किसान वीरबहादुर गुरुङले भने। ढुवानी व्यवस्थित भए काठमाडौं, पोखरा, चितवनजस्ता बजारमा आपूर्ति गर्न सकिने किसानहरूको विश्वास छ।
वडाध्यक्ष सरोज गुरुङले पहिरोका कारण समस्या आयो भन्दै पुनः सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्।

