देशभर पार्टीप्रति आकर्षण बढेको प्रचण्डको दाबी



काठमाडौं,मंसिर ११। नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन्। उनले पछिल्लो समय जनताबाट प्राप्त समर्थनले पार्टी एकताको प्रभावलाई सुदृढ पारेको बताए।

जसपासहित चार घटकबीच भएको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले हिजो धादिङमा आयोजित प्रशासकीय भवन उद्घाटन कार्यक्रमले जनताले नयाँ संकेत दिएको बताए। उनले धादिङमा आफू र पूर्वमन्त्री राजेन्द्र पाण्डेले गरेको सम्बोधनले जनतामा उत्साह देखिएको उल्लेख गरे।

‘त्यहाँको जनताको उमंग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो’, प्रचण्डले भने, ‘यसले धादिङ मात्र होइन, देशभर शक्तिशाली सन्देश गइसकेको छ। यो एकता कुनै लहड वा आवेगमा गरिएको अभियान होइन।’

देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता र जनताको सार्वभौम अधिकारको रक्षा गर्न एकता आवश्यक भएको बताए। ‘यो एकता चुनाव जित्न मात्र होइन, राष्ट्रको स्वाधीनता जोगाउन, जनताको सार्वभौम सत्ता सुरक्षित गर्न बलियो शक्ति निर्माण गर्ने अभियान हो’, प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्