नुवाकोटको शिवपुरीमा १२९ परिवारलाई इन्डक्सन चुलो र राइसकुकर वितरण



नुवाकोट,मंसिर ११। शिवपुरी गाउँपालिका–७ सुनखानीका १२९ परिवारलाई इन्फ्रारेड ओभन र राइसकुकर वितरण गरिएको छ। जर्मनी संस्था केयर फर चिल्ड्रेनले स्थानीय नागरिकलाई विद्युत् उपकरण सहयोगस्वरूप वितरण गरेको हो।

बिहीबार गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाको उपस्थितिमा सामग्री वितरण गरिएको हो। प्रति परिवार ७ हजार ५ सय रुपैयाँ बराबरको उपकरण वितरण गरिएको संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले जानकारी दिए।

यसअघि पनि संस्थाले नुवाकोटका विभिन्न गाउँपालिकाका विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ। हालसम्म नुवाकोटमा मात्रै ७१० विद्यार्थीले न्यानो पोशाक पाइसकेका छन्। संस्थाले नुवाकोट र गोरखा जिल्लाका विद्यालयमा अध्ययनरत गरी ७७० विद्यार्थी, १०६ शिक्षक तथा २४ भान्सेले न्यानो पोशाक प्राप्त गरिसकेको जनाएको छ। झण्डै १५ लाख रुपैयाँ लागतमा सञ्चालन भएको कार्यक्रमले पहाडी क्षेत्रमा जाडो समयमा बालबालिकाले सहज रूपमा विद्यालय जान सहयोग पुगेको बताइएको छ।

केयर फर चिल्ड्रेनले सहयोग प्रदान गरिरहेका विद्यालयहरूलाई दिवा खाजा, पोशाक, झोला, जुत्ता, स्टेशनरीलगायत सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ। संस्थाले आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष थपलियाले बताए। उनका अनुसार हाल ककनी, पञ्चकन्या, शिवपुरी, लिखु गाउँपालिका तथा गोरखाका केही विद्यालयसमेत गरी १० विद्यालयलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्