सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङ बजारमा भीषण आगलागी, नियन्त्रणमा कठिनाई
ताप्लेजुङ,मंसिर १२ । सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङ बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगो साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले जानकारी दिएकी छन्।
शुक्रबार दिउँसो करिब ४:३० बजे लागेको आगोले तामाङको पक्की भुँइतला सहित माथिल्लो तल्लो काठ–जस्तापाता प्रयोग गरिएको संरचना जलेर पूर्ण रूपमा नष्ट भइसकेको उपाध्यक्ष कडरियाले बताइन्।
आगो नियन्त्रणका लागि साब्लाखु प्रहरी चौकी, स्थानीयवासी तथा गाउँपालिकाका कर्मचारी सक्रिय रहे पनि गाउँपालिकामा बारुणयन्त्र (दमकल) नहुँदा नियन्त्रणमा कठिनाई भएको गाउँपालिकाकी रोजगार संयोजक फूलमाया पन्दाकले बताइन्।
आगलागी भएको घरमा उपाध्यक्ष कडरिया, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत कर्मचारीका क्वार्टर पनि भएकाले ठूलो क्षति हुने आशंका स्थानीयहरूले व्यक्त गरेका छन्। घरको भुँइतलामा सञ्चालित किराना पसल र होटलसमेत जलेको प्रारम्भिक जानकारी छ।
आगो अहिलेसम्म नियन्त्रणमा नआएकाले क्षतिको विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।
साब्लाखु भञ्ज्याङ बजार सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र भएकाले आगलागीले बजार क्षेत्रमा थप जोखिम बढाएको स्थानीयले बताएका छन्।

