नुवाकोट पञ्चकन्या गाउँपालिकामा पहिलो खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु
नुवाकोट,मंसिर १२। पञ्चकन्या गाउँपालिकाको प्रायोजन तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिकाको आयोजनामा ‘प्रथम पञ्चकन्या गाउँपालिका खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ आजदेखि सुरु भएको छ।
शुक्रबार आयोजित उद्घाटन समारोह पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पूर्व सांसद हितबहादुर तामाङ प्रमुख अतिथि रहेका थिए।
त्यस्तै प्रदेश सभा सदस्य राधिका तामाङ, राष्ट्रिय तेक्वान्दो संघ नेपालका प्रतिनिधि, वरिष्ठ कलाकार मुकुन्द थापा विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न वय र तौल समूहका खेलाडी, प्रशिक्षक तथा कोचहरूको सहभागिता रहेको आयोजन समितिले जनाएको छ। खेलकुदमार्फत स्थानीय प्रतिभा पहिचान र राष्ट्रिय स्तरसम्म पहुँच बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

