नुवाकोटको लिखुमा ५ दिने शिक्षक कस्टमाइज्ड तालिम सुरु
नुवाकोट,मंसिर १२। जिल्लाको लिखु गाउँपालिका–३ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा पाँच दिने शिक्षक कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। तालिममा लिखुका १३ सामुदायिक विद्यालयका ३९ जना शिक्षकहरूको सहभागिता रहेको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, वडा नम्बर १ का वडा अध्यक्ष नरहरी पाण्डे, क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीलगायतको उपस्थिति थियो।
उद्घाटन सत्रमा उपाध्यक्ष सुभद्रा अधिकारीले लिखु गाउँपालिकाको शैक्षिक अवस्था निरन्तर सुधारतर्फ अग्रसर भइरहेको बताउँदै तालिमले शिक्षकको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको सक्रियता र चासो अपरिहार्य रहेको उल्लेख गरे।
रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ, राधाकृष्ण हुमागाई, फुर्कु घले लगायतले तालिममा प्रशिक्षण दिइरहेका छन्। पाँच दिने यो तालिम मंसिर १५ गतेसम्म चल्नेछ।

