नुवाकोट लिखुको महेन्द्र महेशदेव माध्यमिक विद्यालयद्वारा नयाँ बस खरिद



नुवाकोट,मंसिर १२। जिल्लाको लिखु गाउँपालिका–६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयले नयाँ बस खरिद गरी सेवा विस्तार गरेको छ। विद्यालयले कुल रु २८ लाख ८० हजार लागतमा बस खरिद गरेको हो।

विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठका अनुसार नयाँ बस आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने भएको छ। उनले बस सञ्चालनसँगै टाढाबाट आवतजावत गर्ने विद्यार्थीलाई ठूलो राहत हुने बताए। विद्यालयले बस खरिदका लागि आवश्यक रकम चन्दा संकलनमार्फत जुटाएको हो।

बि.सं. २०१५ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन–अध्यापन भइरहेको छ। विद्यालयमा हाल ३१७ विद्यार्थी अध्ययनरत छन्। प्लस टु तहमा कम्प्युटर इन्जिनियरिङ, व्यवस्थापन र शिक्षा संकाय सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ।

गत वर्षको एसईई परीक्षामा प्राविधिकतर्फ सत् प्रतिशत र साधारणतर्फ ७५ प्रतिशत नतिजा आएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयले विगत केही वर्षदेखि बस सेवा सञ्चालन गर्दै आएको भए पनि नयाँ बसले विद्यार्थी आवतजावत अझ सहज र सुरक्षित हुने विद्यालय पक्षको भनाइ छ। लिखु भेगका विभिन्न सामुदायिक विद्यालयले हाल स्कुल बस सञ्चालनमा ल्याइरहेका छन् । लिखु भेगका जनज्ञान निकेतन, बच्छला माध्यमिक विद्यालय, क्षेत्रपाल माध्यमिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्