ककनी–चिम्टेश्वर जोडिने मोटरबाटोको शिलान्यास
नुवाकोट,मंसिर १२ । ककनी गाउँपालिकाको ३४ किलो हुँदै बेलकोटगढी नगरपालिकाको चिम्टेश्वरसम्म जोडिने मोटरबाटोको शिलान्यास गरिएको छ। ३४ किलो–ओख्ले–भञ्ज्याङ हुँदै पर्यटकीय स्थल चिम्टेश्वरसम्म पुग्ने उक्त मोटरबाटोको शुक्रबार वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा निवर्तमान मुख्यमन्त्री लामाले आफू कार्यकालमा वागमती प्रदेशभरका पुल तथा मुख्य सडकहरूमा शत–प्रतिशत बजेट विनियोजन भई काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले उक्त मोटरबाटो निर्माणका लागि ९ करोड रुपैयाँ विनियोजन भएको जानकारी गराउँदै सडक निर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धन, आन्तरिक आयश्रोत वृद्धि तथा स्थानीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
विकास कार्य कुनै एक व्यक्तिको भरमा सम्भव नहुने उल्लेख गर्दै लामाले सबै स्थानीयको सक्रियता र सहयोग अपरिहार्य रहेको बताउनुभयो। मन्त्री पदमा नरहे पनि विकास निर्माण तथा सडक स्तरोन्नतिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा ककनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सोनाम लामा, बेलकोटगढी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शन्तबहादुर तामाङ र वडा नम्बर २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले धार्मिक तथा पर्यटकीय स्थल चिम्टेश्वरसम्म पुग्ने मार्गका लागि प्राप्त बजेटले स्थानीय, व्यवसायी तथा पर्यटकलाई सहजता प्रदान गर्ने भन्दै खुशी व्यक्त गरे।
स्थानीय समाजसेवी नवराज ढुंगानाले हजारौं स्थानीय जनताको श्रमदानबाट बाटो खनिएको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सामुदायिक एकता र सहभागिताले नै प्रगतिको आधार तयार भएको बताउनुभयो।
उक्त मोटरबाटो निर्माणका लागि सिसन जुरेथुम आर.एन.एस जेभीले ठेक्का सम्झौता गरेको छ। निर्माण व्यवसायी राजकुमारले गुणस्तरीय काम समयमै सम्पन्न गर्न स्थानीय सहयोग महत्वपूर्ण रहेको बताउँदै प्राविधिक तथा भौगोलिक चुनौतीलाई व्यवस्थापन गर्दै तोकिएको समयमा काम सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था, महिला समूह, सहकारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस सडक निर्माणले पर्यटन, व्यापार–व्यवसाय, धार्मिक स्थल पहुँच सुधार तथा स्थानीय जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

