नुवाकोटमा अर्धचेत अवस्थामा महिला फेला, पहिचानका लागि आग्रह
नुवाकोट,मंसिर १२ । नुवाकोटको बिदुर नगरपालिका–६, इनारपाटी जाने चौतारामा एक महिला अर्धचेत अवस्थामा फेला परेकी छन्। शुक्रबार साँझ स्थानीयहरूले चौतारामा बसेकी ती महिलालाई असामान्य अवस्थामै देखेपछि सहायताका लागि खबर गरेका हुन्।
महिला आँपघारी नजिकैको चौतारा (वडा ४ र ६ को सिमाना) मा भेटिएको जनाइएको छ। बोल्न नसक्ने अवस्थाका कारण उनको नाम, ठेगाना तथा पहिचान खुल्न नसकेकोले सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिन आग्रह गरिएको छ।
स्थानीयहरूका अनुसार महिला केही समयदेखि त्यहीँ बसिरहेको देखिएको थियो र अवस्था अर्धचेत झैँ देखिएपछि उद्धारका लागि सहयोग मागिएको हो।
सम्बन्धित परिवार, आफन्त वा चिनजान भएकाले सम्भव भएसम्म तत्काल सम्पर्क गर्न तथा नजिकैका स्थानीय निकाय वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।

